बोक्सी आरोपमा एक जनाको हत्या

न्युजलय ६ मङ्सिर २०८१, बिहिबार ०७:४६ मा प्रकाशित

सुर्खेत । दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ ।

दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, कर्णबहादुर गाउँका धामी थिए ।

बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए । त्यसको केही समयपछि एक्कासी आफूलाई बोक्सी लागेर बिरामी पारेको भन्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । 

हतियार प्रहारबाट घाइते भएका कर्णबहादुरलाई दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।