काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । आज फाइनल खेलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो ।
नेपालले उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको विजेता नेपालले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन्।
विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गर्दै हुनुहुन्छ ।
लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै बाहिरिएको थियो।