कमल गाउँपालिकामा शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक

न्युजलय २२ साउन २०८१, मङ्गलबार ०३:३३ मा प्रकाशित

झापा । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।

पालिकाका अध्यक्ष हुकुमसिंह राईले सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गरेका छन् ।

उनले शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको वा नवीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरेका छन् ।

पालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा कुनै पनि राजनीतिक दलको भेला, सभा तथा बैठकलगायतका कार्यक्रम गर्न निषेध गरेको थियो ।