काठमाण्डौ । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ।
कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए। जापानको कानुनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन।
राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन्। राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद समेत उनले अस्वीकार गरिन्।
यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन्। नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ। कोमुरो अमेरिकामा वकिल छन्।