इटहरी । सुनसरीको इटहरी–९ मा अवस्थित पर्फेक्ट एकेडेमीले यो शैक्षिक सत्रदेखि कक्षा ९ सम्मको अध्यापन गर्ने भएको छ । शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा ध्यान दिँदै आएको विद्यालयले अभिभावकहरूको विश्वास र मागलाई मध्यनजर गर्दै माथिल्लो कक्षा सञ्चालनमा ल्याउन लागेको प्रिन्सिपल रामकुमार गिरीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक रामकुमार गिरीकाअनुसार बालबालिकाको शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई समेत समान महत्व दिइँदै आएको छ। बालमैत्री वातावरणमा सिकाइ प्रक्रिया सञ्चालन गरिनुका साथै विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र व्यवहारिक ज्ञान विकासमा जोड दिइएको उनले बताए।
विद्यालयले योग, प्राणायाम र ध्यानलाई पनि नियमित अभ्यासका रूपमा समेटेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुष्मा गिरीका अनुसार विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि दैनिक रूपमा योग तथा प्राणायाम गराइने व्यवस्था गरिएको छ। अध्यक्ष गिरी र प्रधानाध्यापक गिरी दुवै जना योग प्रशिक्षकसमेत रहेका कारण विद्यालयले आत्मिक चेतनाको विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।
हालै सम्पन्न नगरस्तरीय कक्षा ५ र कक्षा ८ को परीक्षामा पर्फेक्ट एकेडेमीका सम्पूर्ण विद्यार्थीहरूले ए प्लस श्रेणी हासिल गर्न सफल भएको गिरिले बताए । गिरीले विद्यालयको सफलता निरन्तर मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाको प्रतिफल भएको बताए। उनले किताबको ज्ञानसँगै जीवन उपयोगी शिक्षा, योग र अनुशासनलाई जोड दिइएकै कारण विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए।
त्यस्तै अध्यक्ष सुष्मा गिरीले अभिभावकहरूको विश्वास नै विद्यालयको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पर्फेक्ट एकेडेमीलाई शैक्षिक उत्कृष्टताको नमूना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
शिक्षासँगै नैतिक मूल्य, योग, ध्यान र अनुशासनमा जोड दिँदै आएको पर्फेक्ट एकेडेमीले आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिने प्रतिबद्धता जनाएको छ ।