झापा । झापाको मेचीनगरस्थित घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ तेलीवारि का ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर १३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर १२ सहरेडाँगीकी २१ वर्षीया रचना आङदेम्वेले घाँटीमा लगाएको एक तोला सुनको सिक्री थुतेर साइकलमा भाग्दै गर्दा राजवंशीलाई पक्राउ गरिएको हो ।
साइकल चढेर आएका अपरिचित व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री थुती भागेको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फुलवासा खोलाबाट पक्राउ गरेको थियो ।
उनलाई सुनको सिक्री र साइकलसहित इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।