मोरङ । मोरङका भिन्नाभिन्नै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
आइतबार केराबारी गाउँपालिका ५ बगैंचा चोकमा पिकअप भेनले अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।
बा ११ च २९२८ नम्बरको पिकअपले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक केराबारी ६ का ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन्।
पिकअप चालक मोरङको बूढीगंगा गाउँपालिका २ का ३२ वर्षीय शिवकुमार ऋषिदेव, अटोमा सवार केराबारी ६ की ६० वर्षीया हरिमाया मगर, धरान –११ की ३० वर्षीया सीता मगर, उनकी छोरी १० वर्षीया प्रशुना मगर र छोरा ७ वर्षीय एग्रिल मगर घाइते भएका छन्।
घाइतेमध्ये हरिमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार दिपेशकी पत्नी २१ वर्षीया ललिता राई गम्भीर घाइते भएकी छन् ।
उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।