विराटनगर । कोशी प्रदेशका इटहरी र बिर्तामोडलगायत सहरमा कन्सल्टेन्सी, ब्युटी पार्लर, ट्रेनिङ सेन्टर र ट्राभल्स एजेन्सीले नै वैदेशिक रोजगारीमा मानिसहरु पठाउन थालेपछि सर्वसाधारण ठगिने क्रम बढेको छ । इजाजत नै नलिई जोकोहीले कामदार पठाउने गतिविधिले गर्दा विकृती बढेको भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले नियमनको माग गरेको छ ।
अध्यक्ष धनबहादुर पान्धाका अनुसार यस्ता अवैधानिक संस्थाले राहदानी होल्ड गर्ने, पैसा असुल्ने गरिरहेका छन् ।
यस्तै, कतिपय व्यक्ति, संस्थाले विदेशमा अलिलि समस्या भएमा कामदारलाई नेपाल बोलाउने, रकम उठाउन सहयोग गर्ने बहानामा कमीशन माग्ने र बार्गेनिङ गर्ने गुनासोसमेत आएकोले ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले निगरानी गर्ने र ठगी न्यूनीकरणमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।