केपी ओली कप फुटबलको ट्रफी सार्वजनिक

न्युजलय ९ फाल्गुण २०७९, मङ्गलबार ०९:४१ मा प्रकाशित

 काठमाडौं । फागुन ११ देखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा संघ नेपालले प्रतियोगिताको उपाधि ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टीमले प्रतिस्पर्धा गर्ने छन् ।

ट्रफी सार्वजनिक गर्दै युवा संघका अध्यक्ष किरण पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले सम्मान गर्न र समकालिन नेताहरूमध्ये ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गर्न लागिएको बताए ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनलबाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।