काठमाडौं । रुस र युक्रेनबीच निरन्तर रुपमा बढेको तनावको असर नेपालमा पनि पर्न थालेको छ । उक्त युद्धको असर विशेष गरी तेल लगायत खाद्य सामाग्रीको मूल्यमा देखिन थालेको हो ।
नेपालका उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत युक्रेन लगायत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलियाबाट आयात गरिन्छ ।
यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने हुँदा बजारमा खाने तेल लगायत अन्य खाद्य सामग्रीको मुल्य बढिरहेको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताए ।
अझै कतिसम्म मुल्य वृद्धि हुन्छ भन्नेबारे अहिले नै भन्न नसकिने उनको भनाइ छ । उपभोक्ताले महंगी बढ्छ भनेर खाद्यान्न जोहो गर्न थालेको गुप्ताले बताए ।