काठमाडौं । राइड शेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ शहरमा ‘बाइक राइड’सेवा विस्तार गर्ने भएको छ ।
मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप शहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालले जानकारी दिएको छ ।
राइड शेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ शहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ ।
यस्तै मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगन्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार हुन लागेको हो । भविष्यमा अन्य शहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।
नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड शेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ ।