इटहरी । इटहरीस्थित जनता माविका प्रधानाध्यापक पशुपति सिग्देलले राजिनामा दिएका छन् । विद्यालयको वातावरण असहज भएको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको उनले बताएका छन् ।
उनले आफ्नो अनुपस्थितीमा लेखापाललाई हटाएर सहायक लेखापाल र प्रअको हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय व्यवस्थापन समितिले गरेकोमा पनि असन्तुष्टी व्यक्त गरेका छन् । उनले आफू सदस्य सचिव भएकोले आफ्नै अनुपस्थितीमा त्यस्तो निर्णय भएको र त्यसमा आफ्नो असन्तुष्टी रहेको बताए ।
जनता स्कुल विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा काशीनाथ दंगाल नियुक्त भएको एक महिना नबित्दै प्रधानाध्यापकले राजिनामा दिएपछि इटहरी तातेको छ । यसअघि पनि तेस्रो कार्यकाल लगातार अध्यक्ष भएका दंगालको विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा अभिव्यक्तिहरु दिइएका थिए ।
विद्यालय व्यवस्थापन समितिको बैठकले लेखाको जिम्मेवारीमा रहेका सुरेश खड्कालाई हटाएको थियो । उनलाई हटाइएको विषयमा आफू असन्तुष्ट रहेको सिग्देलले बताएका छन् । उनले असहज परिस्थिती भनेपनि कसको कारण र कसरी असहज भएको भन्ने बारेमा भने खुलाएनन् ।
यता अध्यक्ष दंगालले भने खड्का लेखापाल नभइ शिक्षक रहेको र उनले लेखाको जिम्मेवारी मात्र हेरिरहेकोले अहिले व्यवस्थापन समितिले हटाएको बताए । ८० सालमा पनि कर्मचारीले मात्र लेखा हेर्नुपर्ने भनेर पालिकाले परिपत्र गरेको बताउँदै त्यसलाई विद्यालयले ढिलो गरी लागु गरेको बताए ।
उनले पशुपति सिग्देलको राजिनामा स्वीकृत भइ नसकेको र उनलाई राजिनामा फिर्ता लिन आग्रह गरेको बताए । आफूले कसैलाई अफ्ठेरो नबनाएको जिकिर गरे ।
उनले अख्तियारमा लेखा र प्रअ मिलेर भ्रष्टाचार गरेको भनेर केही समयअघि उजुरी परेको बताए । केही समयअघि कोचिङको आम्दानी विद्यालयको लेखाबाहिर रहेको र बिल दिँदा विद्यालयको नाम बाहेकको भाग काटेर बिल दिइएको विषयमा समेत विवाद आएको थियो ।