खोटाङ । त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा निर्माण गरिएका दुई हवन कुण्ड आजदेखि सञ्चालनमा ल्याइएको हो ।
गत वैशाख ४ गते सम्झौता गरेर निर्माण सुरु गरिएको हवन कुण्ड गत असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी वासु कन्स्ट्रक्सन एन्ड सप्लायर्स सोलुखुम्बुले ठेक्का लिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हवन कुण्ड निर्माण गरेर सञ्चालनमा आएपछि पूजाआजा गर्ने भक्तजनलाई सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताइन् ।
त्रिधार्मिकस्थल हलेसी गुफाको प्रमुख प्रवेशद्धारको बाँयापट्टि निर्माण गरिएको हवन कुण्ड कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सोमबार औपचारिक उद्घाटन गरे ।
औपचारिक उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले त्रिधार्मिकस्थल हलेसी तीन धर्मको धार्मिक राजधानी भएको दाबी गरे ।