ताप्लेजुङमा खाद्यले एकै दिन बेच्यो सहुलियतको ७८ क्विन्टल बढी खाद्यान्न, चिनी प्रतिकिलो ११० रुपैया

न्युजलय २७ असोज २०८३, मङ्गलबार ०८:३४ मा प्रकाशित

फुङलिङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले एकैदिन ७८ क्विन्टलभन्दा बढी खाद्यान्न बिक्री गरेको छ। चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्यमा चामल, दाल र चिनी बिक्री गर्न थालेपछि उपभोक्ताको चाप बढेको हो।


शाखा प्रमुख प्रकाश तिम्सिनाकाअनुसार सोमबार एकैदिन ७८ क्विन्टल ३३ किलोग्राम खाद्यान्न बिक्री भएको छ। कार्यालयले उक्त दिन कुल सात लाख ६७ हजार ५०० रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको जनाएको छ। खाद्यान्न खरिदका लागि २९८ जना सेवाग्राही कार्यालय पुगेका थिए।


शाखा प्रमुख तिम्सिनाका अनुसार प्रतिकिलोग्राम ११० रुपैयाँका दरले दुई हजार ८६ किलोग्राम चिनी बिक्री भएको छ। चिनी बिक्री गर्दा दुई लाख २९ हजार ४६० रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले जनाएको छ। गत असोज १४ गतेदेखि चिनी बिक्री सुरु गरेको शाखाले १० दिनको अवधिमा दुई सय क्विन्टलभन्दा बढी चिनी बिक्री गरिसकेको छ।


चाडपर्वका अवसरमा सहुलियत मूल्यमा दाल तथा चिनी बिक्री गर्न थालेपछि ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता खाद्य कार्यालय पुग्ने गरेका छन्। बजारको तुलनामा सहुलियत मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य सामग्री उपलब्ध हुन थालेपछि बिक्री बढेको कार्यालयको भनाइ छ।


तर, कर्मचारी अभाव चुनौती बनेको छ। हाल शाखामा चार जना कर्मचारी मात्रै कार्यरत छन्। यसका कारण सेवाग्राहीले पनि लामो समयसम्म पर्खनुपर्ने अवस्था रहेको शाखाले जनाएको छ।