कतार विश्वकपका लागि जर्मनीको टिकट पक्का

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०२:०० मा प्रकाशित

काठमाडौं । कतार विश्वकप २०२२ का लागि जर्मनी छनोट भएको छ । जर्मनी आयोजक राष्ट्रपछि विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।


गएराति नर्थ मासेडोनियामाथि ४–० गोलअन्तरको जितसँगै जर्मनीले विश्वकपको टिकट पक्का गरेको हो ।


उमेर समूहमा इंग्ल्याण्ड टोलीबाट खेलेका जमाल मुसियालाले जर्मनीका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा टिमले प्रभावशाली जित हासिल गरेको हो । 


पहिलो हाफ गोलरहित बराबरीमा थियो । काइ हाभेट्जले ५०औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए । जसका लागि थोमस मुलरले निस्वार्थ पास उपलब्ध गराएका थिए । 


टिमो वेर्नरले गरेको गोलमा पनि मुलरकै पास थियो । वेर्नरले ७० र ७३औं गरी तीन मिनेटको अन्तरमा २ गोल गरेपछि जर्मनीले ३ गोलको अग्रता बनाएको थियो । त्यसपछि ८३औं मिनेटमा जमालले गोल गरेका हुन् । 


चेल्सीको एकेडेमीका १८ वर्षीय यी उत्पादनले इंग्ल्याण्डका लागि विभिन्न उमेरसमूहको राष्टिय टोलीबाट १९ पल्ट खेलेका छन् । 


जर्मन आमाबाट जन्मेका उनले सिनियर करिअरमा जर्मन टोली रोजेका हुन् । नवौं रखेलमा उनले पहिलो गोल गरेका हुन् । 


हान्सी फ्लिक प्रशिक्षित जर्मन टोली बीसौं पटक विश्वकपका लागि छनोट भएको हो । जर्मनीभन्दा अगाडि ब्राजिलले मात्रै २१औं पटक विश्वकप खेलेको छ ।