वर्षाको गोलमा बंगलादेशविरुद्ध नेपालको जित

न्युजलय २० कार्तिक २०७९, आइतबार १२:५० मा प्रकाशित

काठमाडौँ । नेपालले यू–१५ वुमेन्स साफ च्याम्पियनसिप अन्तर्गत शनिबार ढाकामा भएको खेलमा बंगलादेशलाई १–० ले हराएको छ । नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । यो जितपछि नेपालको प्रतियोगिताको उपाधि जित्ने सम्भावना बढेको छ ।


प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो भने आयोजक बंगलादेशले पहिलो हार बेहोर्‍यो । खेल बराबरतर्फ अग्रसर भइरहेको बेला वर्षाले ८७ औं मिनेटमा निर्णायक गोल गरिन् । यो जितले नेपालको दुई खेलबाट ६ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।


बंगलादेश भने दुई खेलबाट ३ अंकमै सीमित रह्यो । प्रतियोगितामा सहभागी तेस्रो टिम भुटान भने आफूले खेलेको दुवै खेलमा पराजित रहेर शून्य अंकमा छ ।


नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । डबल राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपालले अब फेरि एक/एक पटक बंगलादेश र भुटानसँग खेल्नेछ ।