झापा । झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ। वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातीसहित चार जनालाई पक्राउ गरेको छ।
गौरादह नगरपालिका–७ का ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या आरोपमा नाती १७ वर्षीय धीरज विकसहित टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घटना फागुन २५ गते शिवरात्रीको मध्यरातमा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लागुऔषध सेवन गरेका धिरजले वृद्धा हजुरआमा नरमायाको टाउको रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । हत्या पश्चात उनको शव ग्वालीमा लगेर पुरेको प्रहरीले जनाएको छ ।
पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले बुधबार बिहान प्रहरीमा उजुरी दिएका थिए। धीरजले लागूऔषधको नशामा हजुरआमाको हत्या गरेको हुनसक्ने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।