धरान उपमहानगरपालिका प्रदेश १ को दुई वटा उपमहानगरपालिका मध्येको एउटा हो । पूर्वकै समृद्ध शहरहरुमा पर्ने धरान विकासमा जति अगाडी छ, त्यती तै शिक्षा तथा सामाजिक चेतनाका दृष्टिले पनि यो नगर नेपालमै नमुना नगरमा पर्छ ।
तर त्यही नगरभित्र यस्ता ग्रामिण वडाहरु पनि छन्, जसले विकासको गतिमा आफूलाई अघि बढाउँदै लगेकाछन् । सिमित श्रोत साधनका बाबजुत स्थानीयहरूको सहभागिता, वडाध्यक्ष, वडासदस्य लगायत जनप्रतिनिधिहरूको कुशल नेतृत्वका कारण ती ग्रामीण वडाहरु विकासोन्मुख अवस्थामा पुगेका छन् ।
सीमित बजेटबाट पनि धेरै ठुला कामहरु भइरहेका छन् । यस्तै वडाहरुमध्ये एक हो धरानको वडा नम्बर ५ । वडामा सन्तोष लिम्बु अध्यक्ष रहेको जनप्रतिनिधि नेतृत्व निर्वाचित भएपछि विकासको गती तीव बनेको छ । वडाको समग्र विकासको अवस्थाको विषयमा उहाँसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ –
सुरुमा निर्वाचित भएर आउँदै गर्दा वडाको अवस्था कस्तो थियो ?
यो वडा धरान उपमहानगरपालिकामा गाभिँदा पनि गाविस थियो । त्यसैले विकासको गति साह्रै सुस्त थियो । बजेट पनि थिएन । हामी निर्वाचित भएर आउँदा निकै गाह्रो थियो के गर्ने होला कस्तो गर्ने होला भनेर अन्योल थियो । यहाँ ठूला बाटोहरु, बिजुलीको पोलदेखि खानेपानीसम्म अभाव र समस्या थियो । हामीले विकासलाई अघि बढायौं । सडकलाई कालोपत्रे गर्ने ग्राभेल गर्ने कामहरु गर्यौं । अहिले ७० देखि ८० प्रतिशत विकास भइसकेको छ ।
वडावासीले प्रत्यक्ष अनुभूति गर्ने गरी के–के विकास निर्माणका कामहरु भएका छन् ?
पहिलो कुरा त सडक नै हो । त्यसपछाडि खानेपानी । विद्युत पनि निम्न वर्गीय परिवारलाई बाड्यौ । सबैभन्दा पहिला विद्यालय स्थापना गर्ने, खानेपानीको पाइपलाइन ल्याउने कामहरु सुजता कोइरालाको पालामा भएको थियो ।
उहाँले खानेपानीको पाइप देउराली डाँडामा ल्याइदिनुभएको थियो । तर हाम्रोमा विकासको अवस्था यति न्युन थियो कि लिनको लागि त्यहाँसम्म गाडी पनि जान सक्दैनथ्यो ।
खानेपानीको पाइप कतिदिनसम्म बोकेर हामीले शेहरा खोला पुर्याएका छौंं । वडावासीलाई स्वच्छ खानेपानी पर्याप्तमात्रामा पुगोस् भन्नाका लागि हामी दिनरात लागिपर्यौं । घरघरमा पानीको मिटर जडान गर्यौं ।
पहिले खानेपानी लिनको लागि ठिँगा बारी, खैरिनिको धारा, आपाको धारामा गाग्री ल्याएर पानी बोक्नुपथ्र्यो । आजभोलि राम्रो हुँदैछ । यो लिम्बुको छोरा युवा उमेरमा आएर यसरी विकास गर्छ होला भनेर हामीलाई लागेको थिएन भनेर स्थानीयले कुरा गर्नुहुन्छ । एकदमै खुसी लाग्छ । हामी नमरीकन यो बाटो बन्दैन होला, खानेपानी आउँदैन होला भन्ने लाग्थ्यो तर हाम्रै पालामा विकास देख्न पाइयो भनेर वडावासीहरु खुसी हुनुहुन्छ ।
चुनौतिहरु के कस्तो भोग्नुपर्यो ?
कुर्सी देख्दा राम्रो सुविधायुक्त देखिन्छ, तर त्यसमा बसेर साच्चिकै काम गर्ने हो भने धेरै समस्याहरुको सामना गर्नुपर्छ । म उमेरले पनि सानो, मानिसहरुले नपत्यादिने समस्या थियो । तर त्यसलाई सहजै पार गरेँ ।
वडाध्यक्षको भएर दुःख पाएको भनेको मसाने खोलाको पुल भाँचिदा हो । वडाध्यक्षमा निर्वाचित भएको दुई महिनामै उक्त पुल भाँचियो । पुल बनाउन नगरपालिकाले ४५ लाख रुपैयाँ छुट्याएको थियो । जम्मा ५७ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । बाँकी रहेको रकम जुटाउन निकै धेरै गाह्रो पर्यो ।
सबैलाई आवश्यक पर्छ पुल बनाउन सहयोग गर्नुस् भन्दा त्यो पुल हामीलाई चाहिँदैन, पैसा दिँदैनौं भन्नेहरु पनि थिए । यहाँका स्कुलहरुलाई तपाइहरुको गाडी दिनै गुड्छ, सहयोग गर्नुहोस् न भनेर सहयोग माग्दा २–३ हजार रुपैयाँ मात्र सहयोग गरे । यसले पुल बनाउँदैन, पैसा उठाएर खान्छ मात्रै भन्नेजस्ता आरोपहरु पनि विपक्षीहरुले लगाए ।
त्यो बेलामा नगरपालिकाबाट सहयोग गर्ने सुरज, अरुण, भक्त, निर्मल सरहरुलाई अहिले पनि सम्झन्छु । यो छ नंबर वार्डमा धेरै मानिसहरु सुकुम्बासी छन् । उनीहरुलाई श्रमदान गर्नुपर्छ भन्ने कुरा बुझाउनै गाह्रो थियो । पैसा त उनीहरुले दिन झन् गाह्रो थियो । त्यतीबेलाको ऋण र बक्यौता तिर्नको लागि पछिल्लो समयमा तिलक राई मेयर भएपछि बल्ल सम्भव भयो ।
आगामी आर्थिक वर्षमा युवा, खेलकुदलाई कसरी समेट्नुभएको छ ?
वडाका महिलाहरुलाई आर्जन गर्नकोलागि सहयोग गर्ने हिसाबले सीपयुक्त बनाउन सिलाईकटाई तालिम आयोजना गरिरहेका छौं । त्यसको लागि १६ वटा मेसिन किनेका छौँ । प्रशिक्षण खर्च मात्रै बेहोर्ने गरी बर्सेनि उक्त तालिम गर्ने गरेका छौं । सके व्यवसायिक रुपमा उपयोग गर्छन्, नसके आफ्नै घरको लुगाकपडासमेत सिलाएर उक्त सीप प्रयोग गर्नका लागि महिलाहरूलाई प्रेरित गरिरहेका छौंं ।
त्यो भन्दा अगाडि पनि हामीले १० जनालाई कफी बनाउने तालिम दिएका थियौंं । तीमध्ये दुईजना अहिले रोजगारीमासमेत संलग्न छन् । यस्तै खेलकुदमा पनि हामीले ध्यान दिएका छौं । युवाहरुलाई वडाध्यक्ष कप फुटबल प्रतियोगिता हामीले सञ्चालन गरिरहेका छौंं । बीचमा कोभिडले गर्दा प्रतियोगिता रोकिएकोमा अहिले फेरी सुरु गरेका छौंं ।
प्रतियोगिता सञ्चालन गर्ने मात्र होइन वार्डमा एउटा राम्रो व्यवस्थित खेलमैदान आवश्यक पर्छ भन्ने सोचेर खाली रहेको ६४ कठ्ठा जग्गालाई संरक्षण गरे ३ वर्ष लगातार त्यसको स्तरोन्नती लागि लगानी गरिरहेका छौं । त्यही मैदानमा फुटबल भलिबल लगायतका विभिन्न खेलकुदहरु गर्नेगरी विकास गरेका छौं ।
यो वडाको विकासको लागि कसले के गर्नुपर्ला ?
वडाको विकासको लागि पहिलो आवश्यकता बजेटको पर्छ । सम्बन्धित निकायले बजेटको विनियोजन गर्नुपर्छ । हाम्रो वडा विकासको दृष्टिले निकै पछि परेको वडा हो । धरान भन्ने बित्तिकै मानिसहरु ठूला ठूला घर, सडक भएको भानुचोकलाई सम्झन्छन् । तर हाम्रो यस्तो विकट ठाउँ पनि धरान नै हो ।
त्यसैले यो ठाउँको विकासको लागि अझ बढी रकम लगानी गर्नुपर्छ । भानुचौकको लागि २ करोड दिँदा हुन्छ भने यो ठाउँलाई १० लाख रुपैया लगानी गर्नुपर्छ । केन्द्र, प्रदेश र नगरपालिका सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्छ । जसले गर्दा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक पूर्वाधारहरुको निर्माण गर्न सकियोस् ।