उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ।
बुधबार बिहान लिम्चुङबुङ गाउँपालिका –१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलास्थित कात्तिकेमा ट्याक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीय हिमाल राईको मृत्यु भएको हो।
म. प्र. ०१–००१ त २८४० नम्बरको ट्याक्टर खोलाको उकालो र भिरालो कच्ची सडकमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटनामा परेको बताइएको छ ।
सडकबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिँदा चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाई छ। दुर्घटनामा परेका २७ वर्षीय सहचालक प्रदीप राई भने सकुशल रहेका छन्।
इलाका प्रहरी कार्यालय लिम्चुङबुङको टोलीले घटनास्थल सुरक्षित गरिरहेको छ भने जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटाइएको छ।
संयुक्त टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।