राष्ट्रिय एकता दिवस एवं ३०२ औं बडामहाराजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको शुभकामना
तीन शताव्दी अगाडि जब नेपालमा पृथ्वीनारायण शाहको जन्म भएको थियो त्यसको ५ महिना पछि विश्व विख्यात राजनैतिक अर्थशास्त्री एडम स्मिथको जन्म भएको थियो । पृथ्वीनारायणले जब बाबुसंग राजनीति सिक्दैं कुटनैतिक प्रयास स्वरुप भक्तपुरका युवराजसंग मितेरी गाँस्दै थिए, एडम स्मिथ भने ग्लास्गो यूनिवर्सिटीमा प्रोफेसर भइसकेका थिए । केही वर्ष अगाडिबाट बेलायत सरकारले बेलायती २० पाउण्डको नोटमा उनको तस्विर राखेर सम्मान गरेको छ । तर हाम्रो देश नेपालमा पृथ्वीनारायण शाह जसले साना साना टुक्रे राज्यलाई एक गरेर सिंगो नेपाल बनाए, उनको सम्मानमा कागजी नोटमा तस्विर राख्न चाहेन ।
पृथ्वीनारायण शाहको समय कालमा स्वतन्त्र राष्ट्रको रुपमा अमेरिकाको जन्म भएकै थिएन । जुन बेला पृथ्वीनारायण शाहले किर्तिपुर आक्रमणको तैयारी गर्दै थिए । त्यति बेला जर्ज वाशिंगटनको नेतृत्वमा अमेरिका स्वतन्त्रताको लडाइ लड्दै थियो । त्यस अगाडि फ्रान्सेली तथा बेलायती साम्राज्यको खेलमा अमेरिका टुक्रा टुक्रा थियो । पृथ्वीनारायण शाहको मृत्युको समय तिर जर्ज वाशिंगटनले पहिलो सफलता हासिल गर्दै फिलाडेल्फियामा बसेर संयुक्त राष्ट्रको घोषणा गरेका थिए । अमेरिका स्वतन्त्र भएर जर्ज वाशिंगटन पहिलो राष्ट्रपति बन्दा सम्म त नेपालको एकिकरण अभियानमा अधिराजकुमार बहादुर शाह अगाडि बढेर बिशाल नेपाल बनाइसकेका थिए ।
तीन सय वर्षको अवधीमा अमेरिका विश्वको प्रमुख राष्ट्रमा पुग्न सफल भयो तर हामी अझै एक अर्कालाई गाली गर्दै र एक अर्काको खुट्टा तान्दै आनन्दित भइरहेका छौ । हाम्रो इतिहास कति पुरानो छ । हाम्रो संस्कृति कति बलियो छ । हाम्रो संस्कार कति गहन छ । तर हामी कुवाको भ्यागुतो झै माथि कसैलाई पुग्न नै दिदैनौ, तानेर खसाली हाल्छौ । यो केवल राजनीतिमा मात्र होइन । यो सबै ठाउँमा लागु हुन्छ । आफू अगाडि बढ्न सबैको साथ होइन हामी अरुको पतनलाई सर्वस्विकार्य मान्दछौ । अरुलाई खसाल्न पाए त्यहाँ म पुग्थे भन्ने मानसिकतामा ग्रसित छौ । जसले गर्दा आज कसैलाई तल खसाल्न तल्लिन हामी, भोली हामीलाई तल खसाल्न अर्को तैयार भएर बसेको हुन्छ ।
मल्लकालका समृद्धीलाई बिर्सिएर उपत्यकाका नेवारलाई गाली गर्न थाल्यौ । राणाकालका बैदेशिक नीति र बिकासका खाकाहरुलाई बिर्सिएर राणाका मोज र महललाई मात्र देख्यौ । तर अहिले चन्द्रशमेशरले बनाएको सिंहदरवारमा बसेर देश हाँक्दैछौ र कृष्णशम्शेरले सित्तैमा दिएर गएको शितल निवासमा राष्ट्रपतिलाई राखेर देशको अस्तित्वको खाका बुन्दैछौ । पृथ्वीनारायण शाहको एकिकरणले नेपाली हुन पाएको बिर्सिएर शाहकालिन इतिहासलाई गालि गर्न छोड्दैनौ । लडाइमा एक पक्षको हार हुन्छ अर्को पक्षको जित हुन्छ । जित्नेको इतिहास लेखिन्छ । हार्नेलाई बिर्सन थाल्दछौ । इतिहास पल्टाएर हेर्यौ भने पृथ्वीनारायण शाहको एकिकरण अभियानमा हजारौको मृत्यु भयो । तर एक सिङ्गो नेपालको रुपमा आज नेपाली हुन पायौ । अन्यथा बाइसे चौबिसेको अस्तित्व बेलायती साम्राज्य भित्र बिलाउने थियो ।
पृथ्वीनारायणको शालिक तोडेर वा छ्याकः ल्वहंमा थुक्दैमा इतिहास मेटिदैन । छ्याक: ल्वहंमा थुक्ने कीर्तिपुरवासीको आक्रोश हो यसलाई बन्देज लगाउनु हुदैन । बरु कीर्तिलक्ष्मीलाई पनि राज्यले सम्मान गरोस भनेर भन्नु आबश्यक थियो । हार भए पनि कीर्तिपुरकी कीर्तिलक्ष्मी विरांगना थिइन् ।
शाहवंशका सबै राजा राम्रा थिए भनेर कसैले पनि मानेका छैनन् । हाम्रो परिवार भित्र पनि कहिले काँही एकदुइ पटमुर्ख निस्कन्छन् । त्यसो भयो भन्दैमा शाह राजा सबैलाई गाली गर्नु मनासिव हुदैन । पृथ्वीनारायण शाह आफैले पनि आफ्नो जेठा छोरा सहि नभएको राजा हुन योग्य नभएको भन्ने आभास पाएका थिए । तर पनि कान्छो छोरा बहादुर शाहलाई युवराज घोषणा गर्ने आँट गर्न सकेनन् । जसले गर्दा उनको मृत्यु पछि राजा बनेका प्रतापसिंह शाहको राजकाज गतिशिल हुन सकेन । यस्तैमा केवल २६ वर्षकै उमेरमा क्षयरोगबाट उनको मृत्यु भयो । त्यसपछि राजा बनेका रणबहादुर शाह झन निकम्मा भए ।
आखिर जे जसरी हामीले सोचे पनि नेपाल भन्ने सिंगो राज्यको परिकल्पना गर्ने र एकिकरण गरेर हामीलाई नेपाली बनाउने पृथ्वीनारायण शाह नै हुन् । देशले उनको योगदाको कदर गर्ने पर्छ ।
सुनिल उलक
(खोजकर्ता तथा अन्वेषक उलकको फेसबुक वालबाट)