भोजपुरको हलेदेटारमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

न्युजलय १५ कार्तिक २०८२, शुक्रबार ०२:३९ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं–९ स्थित हलेदेटारमा आयोजित प्रथम हलेदे भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

युइवा युवा क्लबको आयोजनामा दाताहरु मार्फत आर्थिक सहयोग सङ्कलन गरि कार्तिक ९ गते देखि सुरु भएको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता बिहिबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

प्रतियोगिताको फाइनल खेलबाट पैरे भलिबल समूह विजेता र कोल्टार भलिबल समूह उपविजेता बनेको छ । दुवै समूह हतुवागढी–९ साविक हसनपुर गाविस अन्तर्गतका रहेका छन् ।  

सेमिफाइनल खेलमा रानिटार भलिबल समूह उदयपुरलाई हराउदै कोल्टार र हैखाराङ भलिबल समूह आमचोकलाई हराउदै पैरे भलिबल समूह फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद ५१ हजार र उपविजेता टिमले नगद ३१ हजार पुरस्कार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । 

सेमिफाइनल खेलमा पराजित दुवै टिमलाई सान्त्वना पुरस्कार नगद ११ हजार प्रदान गरिएको क्लबका अध्यक्ष टेकनाथ राईले जानकारी दिएका छन् । पर्यटन प्रवर्द्धन साथै स्थानीय खेलाडीलाई अवसर र अन्तर जिल्लाका खेलाडी बिचमा भाइचारा सम्बन्धको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताए ।