झापामा पुरुषको हत्यामा संलग्न तीनजना पक्राउ

न्युजलय ११ कार्तिक २०८१, आइतबार ०२:४४ मा प्रकाशित

झापा । झापामा जग्गासम्बन्धी विवाद हुँदा पुरुषको हत्यामा संलग्न तीनजना पक्राउ परेका छन् ।

कात्तिक ६ गते अपराह्न दमक नगरपालिका–३ बगर टोलमा दमक ९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्या भएको हो ।

उनको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, वडा नम्बर ७ बस्ने ४९ वर्षीय ध्रुव गौतम र संखुवासभा मादी १० घर भई दमक दुम्से बस्ने २६ वर्षीय गणेश दर्जी रहेका छन् ।

घटनामा संलग्न अन्य व्यक्तिहरू फरार छन् । फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।