मेची रङ्गशाला स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

न्युजलय ८ पुस २०७९, शुक्रबार ०२:०५ मा प्रकाशित

झापा । झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । रंगशालाको मुहार पनि यही प्रतियोगिताबाटै फेरीने भएको छ । 

विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू हुन नसक्दा जीर्ण भएको रंगशालालाई यो प्रतियोगिताले पुनर्जीवित बनाउने विश्वास गरिएको छ ।

गोल्डकप समितिका अध्यक्ष दीपेश ढकालले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको छलफलपछि खेलको मिति तय हुने पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रङ्गशाला देशका चर्चित र सफल खेलाडीहरूको प्रारम्भिक खेल मैदान हो । अठार वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थित गर्न नसकिएको उनको भनाइ छ ।

उनका अनुसार प्रतियोगिताका विजेताले नगद रु १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु सात लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको छ ।