आजदेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता सुरु हुँदै

न्युजलय ७ फाल्गुण २०७९, आइतबार ०२:१९ मा प्रकाशित

झापा । भद्रपुरस्थित मेची रंगशालामा आज आइतवारदेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । 

गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालकाअनुसार प्रतियोगितामा नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता  रहने छ । गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको उनले जानकारी दिए । 

आइतवार हुने आयोजक टिम भद्रपुर ब्लेजर्स र भारतको जयगाउँबीच उद्घाटन खेल हुनेछ । यस्तै प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङ, मस्र्याङ्दीलगायतका नेपालका ख्यातिप्राप्त ए डीभीजन टिमको सहभागितामा रोचक प्रतिस्पर्धाका हुनेछ ।

प्रतियोगितामा  प्रथम हुनेलाई १३ लाख र द्वितीय हुनेलाई ७ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगितामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाएको छ । भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइनेछ ।

रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्नेगरी स्थायी र अस्थायी प्याराफिट तयार पारिएको छ ।