विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेको प्रतिभा टोलबाट तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रेमबहादुर चौहानको घरको दोस्रो तलामा तास खेलिरहेकाहरु शनिबार साँझ पक्राउ परेका हुन्। पक्राउ पर्नेमा घरधनी ५९ वर्षीय प्रेमबहादुर चौहान, सुन्दरहरैँचा–१० का ४९ वर्षीय कुमार पुरी, ३६ वर्षीय हेमबहादुर थापा, ४८ वर्षीय ध्रुव अधिकारी, ५० वर्षीय यामकुमार प्रधान, सुन्दरहरैँचा–१२ का ३८ वर्षीय डम्बरराज बस्नेत र केराबारी गाउँपालिका–६ का ४३ वर्षीय रोविनकुमार घिमिरे रहेका छन्।
तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
तासको खालबाट ६८ हजार नगद र चार बुङ ताससमेत बरामद भएको छ। पक्राउ परेकाविरुद्ध कानुनी कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।