काटमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावास रियादले अलपत्र परेका चार नेपाली महिलाको उद्दार गरेको छ ।
छ वर्षअघि अफिस किल्नरको रुपमा कुवेत पुगेका यी चार महिला एक महिनाको बसाईंपछि उनीहरू घरेलु कामदारका रूपमा कुवेतहुँदै साउदी अरेबिया पुगेका थिए ।
छ वर्षसम्म काम गर्दा साउदीले एक वर्षको मात्र तलब दिएको र बाँकी सेवा सुविधाबाट बन्चित गरि आफूहरूलाई अवैधानिक रुपमा समेत राखेको उनीहरुले बताए।
दैनिक रूपमा १८ घण्टा सम्म काम गर्नुपर्ने ,मानसिक यातना दिने र लामो समयसम्म काम गरेको तलब नदिएकाले आफूहरू दुतावाससँग सम्पर्क गरी दूतावासको सहयोगमा साउदीको घरबाट भागेर आएको बताए ।
उनीहरू ३ महिनादेखि दूतावास सेल्टरमा बस्दै आएका छन् । पीडित महिला अलग अलग एजेण्डको सहयोगमा कुवेत पुगेका थिए । पीडित महिलालाई स्वदेश फिर्ताको लागि दूतावास रियादले बहिर्गमन भिसाको व्यवस्था समेत गरेको हो। पीडित हुनेमा मोरङ,झापा,नवलपरासी र दाङका रहेका छन् ।
उद्दार गरिएका ४ महिलालाई स्वदेश फिर्ताको लागि आवश्यक पर्ने हवाई टिकट व्यवस्थाको लागि दूतावास रियादले भातृसंगठन एमाले प्रवासी नेपाली मञ्चलाई आग्रह गरेको थियो। संगठनका अध्यक्ष अमर श्रेष्ठलगायत सदस्यहरूको सहयोगमा ४ हवाई टिकट उपलब्ध गराई सहयोग गरेका हुन्।
उद्दार गरिएका चार नेपाली महिला यहि आउँदो १० अगस्टका दिन हिमालयन एयरलाइन्सको उडानबाट स्वदेश फिर्ता हुने भएका छन्।