बेसिन लिएर एलन मस्क ट्वीटर हेडक्वाटर पुगे

न्युजलय १० कार्तिक २०७९, बिहिबार ०९:४१ मा प्रकाशित

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका प्रमुख एलन मस्क ४४ अर्ब डलरमा ट्वीटर खरिदको सम्झौता गर्ने तयारीमा छन् । यही चर्चाका बिच मस्क सान फ्रान्सिस्कोस्थित ट्वीटरको मुख्यालयमा पुगेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा नौ सेकेन्डको भिडिओ अपलोड गरेका छन् । जसमा उनी प्रोसेलिन सिङ्क (बेसिन) लिएर त्यहाँ पुगेको देखिन्छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘ट्वीटरको मुख्यालयमा प्रवेश गर्दै, यसलाई भित्र डुब्न दिनुहोस् ।’

ट्वीटर र मस्कबीचको सम्झौताको विवाद यतिखेर अदालतमा विचाराधीन अवस्थामा छ । उनीहरूबीचको असमझदारी शुक्रबार टुङ्गोमा पुग्न सक्ने अपेक्षा गरिएको छ । उनले शुक्रबार ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । मस्कले अहिले चिफ ट्वीट भनेर ट्वीटरको बायोमा लेखेका छन् ।

गत अप्रिलमा मस्कले ट्वीटर खरीद गर्ने विषयमा सर्वसाधारणलाई विश्वस्त बनाएका थिए । पछि ट्वीटरमा बटको सङ्ख्या पारदर्शी नभएको भन्दै उनी पछि हटेका थिए । त्यसपछि ट्वीटरले यही विषयलाई लिएर मस्क विरुद्ध अदालतमा मुद्दा हालेको थियो । जसको सुनवाई भोलि शुक्रबार हुँदैछ । 

ट्वीटर खरिद गरिसकेपछि मस्कले उक्त कम्पनीका ७५ प्रतिशत कर्मचारी अर्थात करिब ७५०० कर्मचारी कटौती गर्ने संकेत दिएका छन् ।