चलचित्र संघद्वारा सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०७:३१ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलमा यस्तो सहमति भएको हो ।


चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५र५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ ।

 

आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन् ।