इटहरी रंगशालाको खेलमैदानमा कन्सर्टको स्टेज

न्युजलय २४ कार्तिक २०८१, शनिवार ०६:२२ मा प्रकाशित

इटहरी । रंगशाला खेलकुद प्रतियोगिताको लागि बनाइएको हुन्छ । खेलकुद नभएको समयमा त्यहाँ अन्य गतिविधिहरु गर्दा त्यहाँको संरचना नबिग्रनेतर्फ खास ध्यान दिइन्छ । खासगरी दर्शक बस्ने प्याराफिट र खेल मैदान दुरुस्त रहनुपर्छ । अरुबेलामा पनि मैदानमा सवारी साधनहरु निषेध गरिन्छ ।

तर इटहरी रंगशालाको खेलमैदानमा अहिले कन्सर्ट भइरहेको छ । गायक साजनराज वैधको कन्सर्ट गरिएको हो । कन्सर्टको सामान ओसार्न र स्टेज बनाउनका लागि मैदानमा भारी ट्रकहरु पसेका छन् । स्टेज बनाउँदा पिल्लर गाड्दा मैदान बिग्रिएको र करोडौंको लागतमा बनाइएको रंगशालाको दुरुपयोग भएको भन्दै खेलाडी तथा खेलप्रेमीहरुले विरोध जनाएका छन् ।

धरानका खेलाडी विकास चाम्लिङले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै रंगशालाको खेलमैदानमा क्षती पुग्ने गरी कार्यक्रम गर्न लागिएको देखेर आफू अचम्मित भएको बताए । 'धरानमा पनि कन्सर्टहरु गर्दा त्यहाँको रंगशाला माग्छन्, तर रंगशाला दिने गरिएको छैन, इटहरीमा कन्सर्ट भएको देखेर छक्क परेँ,' उनले भने, 'भोलि खेल गर्ने बेलामा मर्मत गर्ने पैसा कसैले दिँदैन, यसरी नै खेल पुर्वाधार मासिने हुन् ।'

इटहरी रंगशालामा राष्ट्रिय जागृती क्लबले वार्षिक रुपमा इटहरी गोल्डकप गर्ने गरेको छ । मैदान मर्मतको कार्य पनि क्लबले नै गर्ने गरेको छ । निकै पहल गरेपछि फ्लड लाइट जडान गरेर अघिल्लो वर्षदेखि रात्रिकालिन फुटबल प्रतियोगिता हुन थालेको छ । यस्तै इटहरीका बालबालिकाहरुलाई ग्रासरुट खेल प्रशिक्षणसमेत यहाँ गर्ने गरिएको छ ।

क्लबका सदस्य तथा इटहरी गोल्डकपका संयोजक अनुरोध थापाले भने कन्सर्टले मैदानलाई क्षती नपुर्याउने दावी गरेका छन् ।

'सबै सामानहरु ल्याएर फिटिङ गरिएका हुन्, मैदानलाई असर गर्दैन,' उनले भने । बरु आयोजकले मैदानको सरसफाइ गरिदिएको र सुरक्षाको लागिसमेत सहयोग गरेको उनले बताए ।

'मैदानको संरक्षण र संबद्र्धन हामीले नै गर्दै आएका छौं,' उनले भने, 'त्यसैले मैदानमा क्षती हुने काम गर्नु हुँदैन भन्नेमा हामी सचेत छौं ।' उनले कन्सर्टमा सहभागि हुन नेपाल तथा भारतबाट दर्शकहरु आएको र त्यसले आन्तरिक पर्यटन प्रबद्र्धन भएको बताए । इटहरीका सबै स्तरीय होटलहरु दर्शकले भरिएको उनले जानकारी दिए ।

इटहरीलाई खेलको राजधानी बनाउने उद्देश्यका साथ इटहरीकै केशव विष्ट सदस्य सचिव भएको समयमा इटहरी रंगशालामा आधुनिक प्याराफिटसहित दर्जन बढी खेल प्रतियोगिता हुने गरी संरचनाहरु बनाइएका हुन् । इटहरीमा रंगशाला बनाउनको लागि आन्दोलनसमेत भएको थियो । इटहरीवासीले संघर्ष गरेर बनाएको रंगशालामा नियमित खेल गतिविधि नहुँदा मर्मत सम्भारको लागि इटहरी गोल्डकप नै कुर्नुपर्ने अवस्थाछ ।

यसपटक पनि फागुन महिनामा इटहरी गोल्डकप हुँदैछ । त्यसको लागि तयारी सुरु भइसकेको थापाले जानकारी दिए । उनले गोल्डकपलाई अझ व्यवस्थित र भव्य बनाउने तयारी भइरहेको बताए ।