काठमाडौं । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । अर्को महिना केन्यासँग हुने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यासको खेलको लागि नेपालले अन्तिम टोली घोषणा गर्दा ज्ञानेन्द्र टोलीमा समेटिएका हुन् ।
ज्ञानेन्द्रलाई नेपालले गत मार्च युएईमा सम्पन्न आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजपछि टोली बाहिर राखेको थियो । लगातार खराब प्रदर्शनको कारण ज्ञानेन्द्र टोलीबाट बाहिरिएका थिए । त्यसपछि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुई ओडिआई खेल, पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो ।
त्यस्तै घरेलु मैदानमा जिम्बावे ए सँग समान तीन टि२० र एकदिवसिय अभ्यास खेल खेलेको थियो । उनले विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिका र स्कटल्यान्ड भ्रमण गुमाएका थिए । टोलीमा लगातार युवा खेलाडीको खराब प्रदर्शन र युवा खेलाडीले राम्रो प्रदर्शन नगरेपछि ज्ञानेन्द्र टोलीमा फर्किएका हुन् ।
टोलीमा अनुभवी खेलाडीको आवश्यक हुँदा ज्ञानेन्द्र फर्किएका हुन् । ज्ञानेन्द्र टोलीमा फर्किदा पछिल्लो समय लगातार टोलीमा पर्दै आएका कुशल भुर्तेल भने बाहिरिएका छन् । पछिल्लो समय भुर्तेलको प्रदर्शन राम्रो हुन सकेको थिएन ।
ज्ञानेन्द्र टोलीमा फर्किदा उनीसँग दुई विकल्प हुनेछ । उनले आसिफ शेखका साथ इनिङ ओपन गर्ने सम्भावना छ । त्यस्तै देव खनाललाई ओपनिङ गराउँदै ज्ञानेन्द्र मल्ललाई तेस्रो नम्बरमा खेलाउने विकल्प पनि रहनेछ । तेस्रो नम्बरको ब्याटरको प्रदर्शन सधैं महत्वपूर्ण हुने गर्दछ । हाल टोलीमा अनुभवी खेलाडी आवश्यक रहँदै आएको छ । युवा अलराउन्डर विवेक यादव र स्पिनर साहब आलमले पनि टोलीमा पूनरागमन गरेका छन् ।