मोडर्न प्रिपेरेटरी स्कुलका बालबालिकाले हजुरबा, आमालाई देखाए प्रस्तुती

न्युजलय २० माघ २०८०, शनिवार ०३:४२ मा प्रकाशित

इटहरी । इटहरीस्थित मोडर्न प्रिपेरेटरी मा विमा अध्ययनरत पूर्व प्राथमिक तहका बालबालिकाहरुले आफ्ना हजुरबुवा–हजुरआमाहरुका लागि प्रस्तुति देखाएका छन् ।


शुक्रवार हजुरबुबा हजुरआमा विशेष कार्यक्रम ‘ग्रेण्ड प्यारेन्ट्स डे – २०८०’ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरआमाका अगाडि प्रस्तुति देखाएका हुन् ।


प्राध्यापक डाक्टर टंक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीका हजुरबुबा हजुरआमाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


आफु बालबालिका र जेष्ठ नागरिक केन्द्रित यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएको बताउँदै प्राडा न्यौपानेले कार्यक्रम देखेर आफु खुसी भएको बताए । यस्तो कार्यक्रमले पुस्ताहस्तान्तरणका साथै पुस्ताहरुबिच निकट सम्बन्ध विस्तार गर्ने उनले बताए ।


उनले भने, ‘हजुरबुबा–हजुरआमासँगको सामिप्यता पाएका साना बालबालिकाले माया प्रेम, आफ्नो पुर्खाको विरासत र संस्कार पाउँछन् । जसले गर्दा उनिहरुको वृत्तिविकासमा सकारात्मक सहयोग पुग्छ ।’


विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेका अनुसार अन्य समयमा अभिभावक दिवसको समयमा विद्यार्थीका बा–आमा मात्रै आउने भएपनि यो कार्यक्रममा भने जेष्ठ नागरिक हजुरबा–हजुरआमाहरु सहभागि थिए ।


‘कुनै समय आजका हजुरबा–हजुरआमाले हात समाएर ल्याउनुभएका छोराछोरीहरू आज आफ्ना छोराछोरीको हात समाएर विद्यालय आउनुहुन्छ,’ उनले भने, ‘आज उनै हजुरबा–हजुरामालाई सम्मान समेत गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’


पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले पनि विद्यार्थीहरूबीच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ ।


ज्येष्ठ नागरिकहरुबाट बच्चाले असल आनीबानीको विकास गर्ने र आफ्नो संस्कारसँग पनि परिचित गराउने विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए ।


कार्यक्रममा डायनामिक करियर एजुकेसनकी शैक्षिक परामर्शदाता अन्जु रेग्मीले साना नानीहरुलाई आफ्ना हजुरबुबा हजुरआमासँग भावनात्मक रुपमा जोड्ने यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक मानोबैज्ञानिक प्रभाव पार्ने बताइन् ।


कार्यक्रममा उमेरका आधारमा जेष्ठ सहभगिहरुलाई सम्मान समेत गरिएको थियो ।