कपिलवस्तुमा ग्यास विस्फोटः दिदीभाइको मृत्यु

न्युजलय १३ जेठ २०८२, सोमबार ०५:५९ मा प्रकाशित

 रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास लिक भएर आगलागीमा परी एकै परिवारका दिदीभाइको मृत्यु भएको छ। 

जेठ ११ गते पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। सो आगलागीमा परी यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार घरको भान्सामा ग्यास रेगुलेटर जडान गर्दा ग्यास लिक भएको थियो। सोही बेला गोठमा बलिरहेको आगोले ग्यास समातेर ठूलो आगलागी भएको बताइएको छ। आगलागीपछि इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।