भेडेटारमा सिसामा हिड्ने स्काई वाक बन्दै

न्युजलय २६ फाल्गुण २०७९, शुक्रबार ०९:११ मा प्रकाशित

धरान । भेडेटारमा सिसाको स्काई वाक बन्ने भएको छ । ३० करोड रुपैयाँ लागतमा बन्ने स्काइ वाक सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको हो ।

वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । ५० मिटर लामो स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् रोमान्चक अनुभव हुने  कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।

भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यो स्काइ वाक आगामी ९ महिनाभित्रै निर्माण सकिने कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि उक्त स्थान प्रयोग गर्न अनुमति दिइसकेको छ । 

यही कम्पनिले काठमाडौंको कमलादीमा स्काई वाक टावर निर्माण गरिरहेको छ भने इलामको कन्याममा कन्याम क्लाउड नामको स्काई वाक पनि सञ्चालनमा ल्याएको छ ।