काठमाडौं । आर्थिक मन्दीले खासै असर नगर्ने व्यवशायका रुपमा चिनिने किराना व्यवशाय पनि पछिल्लो समय मुलुकमा बढेको आर्थिक मन्दीका कारण सुस्ताएको छ । उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेका छन् । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री हुँदा व्यवसाय पहिलेको तुलनामा निकै खस्केको व्यवशायीहरुको भनाइ छ ।
कोभिड–१९ महामारीपछि धेरैको आम्दानी घटेर आर्थिक समस्या भइरहेका बेला शुरू भएको रूस–युक्रेन तनावले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च वृद्धि भई उपभोग्य वस्तुको मूल्य आकाशिएपछि उपभोक्तालाई दोहोरो मार परेको थियो । यो क्रम अझै पनि निरन्तर बढिरहेको छ । आम उपभोक्ताको क्रयशक्ति घट्दा प्रत्यक्ष असर व्यवसायमा परेको देखिन्छ ।