पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ भदौरका ५२ वर्षीय बखतसिंह सिंगक लिम्बूले आफ्नै छोराको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मादक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार घर पछाडिको बारीमा आफ्ना १७ वर्षीय छोरा सफल सिंगकमाथि बन्दुक चलाएका थिए ।
भरुवा बन्दुक प्रहार गर्दा गोली लागेर सफलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली शरीरका विभिन्न भागमा लागेको थियो ।
घटना भएको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर आरोपी बखतसिंहलाई घटनास्थलबाटै बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
घटनापछि मृतकको शवलाई पाँचथर अस्पतालमा प्रारम्भिक परीक्षणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।