काठमाडौं । मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको ४ दिन पछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो अन्दाजी १२ बजे तिर जिल्ला सदरमुकाम गमगढी स्थितबीच बजार (नगरपालिका जाने बाटो) बाट प्रहरीले शङ्कास्पद ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ती व्यक्ति बारेको विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुसन्धानका लागि ११ गते नै जुम्ला,कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगी अनुसन्धान गरि रहेको थियो ।
यसैबीच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रनाउ वीरेन्द्र थापाले घटना स्थलको स्थलगत भ्रमण गराएका थिए ।
कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको छ। यो टोलीले शनिबारेदेखि अनुसन्धानको काम जारी राखेको छ। शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज बोहरा, ८ महिनाका छोरा रहर बोहरा र ८ वर्षीया छोरी अप्सरा बोहराको शव घरभित्रै फेला परेको थियो ।