दोहा । पोर्चुगालका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले टिमको एकता तोड्न बाहिरी शक्ति सक्रिय भएको आरोप लगाएका छन् । लामो समयको मौनता तोड्दै उनले यस्तो बताएका हुन् ।
स्विट्जरल्याण्डविरूद्ध प्रिक्वाटर फाइनल खेलमा प्लेइङ–११ मा आफूलाई नपारेको विषयलाई लिएर रोनाल्डोले टिम छाड्न खोजेको हल्ला चलेको थियो।
उनले यस कुराको खण्डन गर्दै जारी विश्वकपमा पोर्चुगलको टिम निकै बलियो भएको र यसलाई तोड्न बाहिरी शक्ति सक्रिय रहेको बताए।
म्यानचेस्टर युनाइटेडसँगको चिसो सम्बन्ध र राष्ट्रिय टोलीमा उनको प्रदर्शन र व्यवहारप्रति टिकाटिप्पणी भए पनि पोर्चुगलको विश्वकप टोलीमा उनको प्रभुत्व कायमै छ।
कतारमा उनले एक मात्र गोल गरेका छन्। प्रशिक्षक फेर्नान्डो सान्तोसले दक्षिण कोरियाविरूद्ध २–१ ले पराजित खेलमा उनलाई बीचमा निकालेका थिए। यसपछि प्रशिक्षकसँग उनको सम्बन्ध खराब भएको समाचार प्रकासित भएको थियो।
उनले ट्वीट गर्दै भनेका छन्, ‘बाहिरी शक्तिले तोड्न सक्ने समूह धेरै नजिक छ। तर यो राष्ट्र निकै बहादुर छ, कुनै प्रतिद्धन्द्धीले हामीलाई डराउन सक्दैन। एउटा टोली शब्दको सहि अर्थमा, सपनाको लागि लड्ने छ। हामीलाई विश्वास गर्नुहोस्। बलियो, पोर्चुगल ।’