दुग्ध प्रशोधन गर्ने पुर्वकै ठूलो सहकारी कामधेनुले मनायो रजत जयन्ती

न्युजलय २४ साउन २०८१, बिहिबार ०९:२४ मा प्रकाशित

इटहरी । इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाले रजत जयन्ती मनाएको छ । 


२५ वर्ष पुगेको अवसरमा संस्थाले रजत स्मारिका विमोचन गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेश सभाका सचेतक रेवतिरमण भण्डारीलगायतले विमोचन गरेका थिए । स्मारिकाले संस्थाको स्थापनादेखि हालसम्मको अवस्था र भावि योजनालाई समेत समेटेको छ । जसमा संस्थाका पुर्व अध्यक्षहरु, सञ्चालक समिति, किसान, संस्थाका कर्मचारी र विज्ञहरुका भनाई तथा अनुभवहरु समेटेको छ । स्मारिकाको सम्पादन हिमाल दाहालले गरेका हुन् । 


साथै मुख्यमन्त्री कार्कीले उत्कृष्ठ कर्मचारी, शेयर सदस्यहरुलाई सम्मान गरेका थिए । 


कार्यक्रममा बोल्दै कार्कीले दुग्ध उत्पादन गर्ने किसानहरुको लागि कोशी प्रदेश सरकार लागिपरेको बताए । उनले दुग्ध किसानहरुले मिल्क होलिडे गर्नुनपर्ने अवस्थाको सृजना गर्नका लागि करिब ४ वर्षअघि सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ मार्फत् २० करोड रुपैया सहयोग गरेको बताउँदै उनले कोशी प्रदेश सरकार किसानहरुसँगै रहेको बताए ।


कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले कामधेनु सहकारीले किसानहरुको लागि गरेका कामहरुको प्रसंसा गरेका थिए । उनीहरुले संस्थाले उत्पादन गर्दै आएका विभिन्न दुग्ध वस्तुहरुको बजारीकरणमा जोड दिँदै सबै पक्षबिच हातेमालोको आवश्यकता रहेको बताए । 


संस्थाले रजत जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको थियो । जसमा रक्तदान, विश्रान्ती वृद्धाश्रममा भोजन, सडक हाजिरीजवाफ प्रतियोगिता, कृषकहरुसँग भेटघाट, कृषक शिक्षा र वृक्षरोपण कार्यक्रम गरिएको थियो । 


कामधेनु दुग्ध प्रशोधन गर्ने पुर्वकै ठूलो र देशकै पहिलो सहकारी हो । कामधेनु सहकारीले कोशी प्रदेशका ६ जिल्लाका ६० भन्दा बढी सहकारी र व्यवशायीक किसानहरुबाट दुध संकलन गर्छ । जसलाई इटहरी र जोरपाटीमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी दुध, दही, मोही, घिउ, मिठाई, खुवा, चीज, छुर्पी आदि बनाउँछ ।


छुर्पी विदेश निर्यात थालिएको छ भने चीजले काठमाडौ, पोखरालगायतका शहरमा वितरण थालिएको छ । जसले राम्रो प्रतिक्रिया पाएको बजार प्रमुख नवराज नेपालले जानकारी दिएका छन् । निकट भविष्यमा कामधेनुले आइसक्रिमसमेत उत्पादन गर्न लागेको छ । मेसिन आइसकेको र प्रशोधनको तयारी भइरहेको कार्यकारी व्यवस्थापक सतिशकुमार शर्माले जानकारी दिए ।


यसैगरी कामधेनुले सदस्यता विस्तार, बजार विस्तार, किसानहरुलाई राहत दिने गरीका बचत तथा ऋणका स्किमहरुसमेत अघि बढाएको छ । कामधेनुले किसानहरुको लागि भेटनरी विज्ञ राखेर पशुहरुको स्वास्थ्य जाँच र उपचार, तालिमसँगै दानाको व्यवस्थापनमासमेत सहयोग गर्दै आएको छ । कामधेनुकै पहलमा धुलो दुध उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । कामधेनु उद्योग परिसरमै स्थापना गरिएको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघमार्फत् प्लान्ट सञ्चालनमा आएपछि मिल्क होलिडे हुन पाएको छैन ।


यो प्लान्ट स्थापनामा प्रदेश सरकारले २० करोड अनुदान दिएको छ भने ४० वटा सहकारीहरुलेसमेत लगानी गरेका छन् । यही मोडेलमा दाना उद्योगसमेत सञ्चालन गर्ने तयारी रहेको कामधेनु सहकारीका अध्यक्ष यादप ढकालले जानकारी दिएका छन् । उनले सहकारीले किसानको आम्दानी बढाउँदै प्रशोधित दुग्ध पदार्थको बजार प्रबद्र्धनलाई जोड दिएको बताए ।