काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतमा उत्पादित चार वटा खोकीको औषधि बिक्रीमा रोक लगाएको छ।
डब्लुएचओले बालबालिकाका लागि प्रयोग हुने कफ सिरप–खोकीको औषधिबाट पश्चिम अफ्रिकी देश गाम्बीयामा ६६ बालबालिकाको मृत्यु भएपछि बिक्री वितरणमा रोक लगाएको हो। गाम्बीयामा मृगौलाको समस्या देखिएर बालबालिकाको मृत्यु भएको डब्लुएचओले जनाएको छ।
भारतको हरियाणास्थित माइडेन फार्मास्युटिकल्सले उत्पादन गरेको औषधिमा डायाथालीन ग्लाइकोल र इथालिन ग्लाइकोल मात्रा निकै धेरै रहेको पाइएको थियो। जानकारहरूका अनुसार डायाथालीन ग्लाइकोल र इथालिन ग्लाइकोल मानव शरीरका लागि निक्कै हानिकारक मानिन्छ।
डायाथालीन ग्लाइकोलको असरले पेट दुख्ने, वान्ता हुने, झाडा लाग्ने, पिसाब फेर्न गाह्रो हुने, टाउको दुख्ने, तथा मृगौलामा घाउ लाग्न सक्ने सम्भावना हुन्छ।
प्रोमेथाजाइन ओरल सोलुसन, कोफेक्समालिन बेबी कफ सिरप, मेकअफ बेबी कफ सिरप र मग्रिप एन कोल्ड सिरप, यी चार भारतबाट उत्पादन भई विभिन्न ठाउँमा निर्यात भइरहेको थियो।
माइडेन फार्मास्युटिकल्स नामक कम्पनी नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उनले नेपालमा औषधि आउनुअघि पूरा जाँच हुने भएकाले डायाथालीन ग्लाइकोल मिसिएको कुनै पनि औषधि नभित्रिएको बताए।