आर्थिक संकट गहिरिएपछि श्रीलंकामा आपतकाल घोषणा

न्युजलय १९ चैत २०७८, शनिवार ०७:३४ मा प्रकाशित

काठमाडौं । गम्भीर आर्थिक संकट भोगिरहेको श्रीलंकामा राष्ट्रपति गोटाबाया राजपक्षले आपतकाल घोषणा गरेका छन् ।

 

देशको सुरक्षा र अत्यावश्यक सेवाको आपूर्तिलाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

आर्थिक संकटको सामना गर्न नसकेको भन्दै यतिबेला राजपक्षे सरकारविरुद्ध देशभर प्रदर्शन भइरहेको छ । प्रदर्शन बढ्दै गएपछि आपतकालको सहारा लिन खोजिएको छ ।


प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारणबीच झडप हुँदा हिंसात्मक अवस्था समेत उत्पन्न हुन लागेको जनाइएको छ । एकातिर आर्थिक संकट भोगिरहेको श्रीलंकमा अर्कोतिर हिंसात्मक प्रदर्शनले थप समस्या निम्त्याएको छ ।

 

राष्ट्रपति निवासबाट शुरू भएका प्रदर्शन देशभर फैलिन थालेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप, अश्रुग्यास प्रहारका घटना समेत भइरहेका छन् ।