चार्ल्स शोभराज भोलि मात्रै रिहा हुने

न्युजलय ७ पुस २०७९, बिहिबार ०७:४५ मा प्रकाशित

काठमाडौं । विकिनी किलरका रुपमा चिनिएका कुख्यात अन्तर्राष्ट्रिय अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार मात्रै रिहा हुने भएका छन् । 


बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले केन्द्रीय कारागार सुन्धारामा कैद रहेका शोभराजलाई आजैदेखि मुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश जारी गरेपनि बिहीबार रिहा नहुने भएका हुन् ।  


कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । शोभराज ७८ वर्ष पुगिसकेका छन् । 


नेपालमा मात्रै हत्या मुद्दामा २० वर्ष कैद सजाय तोकिएका उनले १९ वर्ष कैद सजाय भोगिसकेका छन्। उनले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो ।