सेयर लगानीकर्ताले एक वर्षमा गुमाए ११ खर्ब पूँजी

न्युजलय ३२ असार २०७९, शनिवार ०३:०१ मा प्रकाशित

काठमाडौं । सेयर बजारका लगानीकर्ताका लागि आर्थिक वर्ष २०७८÷०७९ सुखद् रहन सकेन । अनेक नयाँ रेकर्ड बनेका वर्ष लगानीकर्ताको लागि भने निराशाजनक रह्यो ।


आर्थिक वर्ष ७८÷७९ मा नेप्से परिसूचक ८७३.९२ अंकले घटेको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से २८८३.४० अंकमा बन्द हुँदा धितोपत्र बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको कारोबारको अन्तिम दिन शुक्रबारको कारोबार पश्चात् नेप्से परिसूचक २००९.४६ को विन्दुमा बन्द भएको छ ।

 

नेप्सेमा ओरालो लाग्दा बजार पूँजीकरण पनि एक वर्षमा ११ खर्ब ४१ अर्ब ६२ करोडले घटेर २८ खर्ब ६९ अर्ब ३४ करोड लाखमा झरेको छ ।


आर्थिक वर्षको सुरुआतमा बजार परिसूचक नेप्सले अहिलेसम्मकै नयाँ उचाई कायम गर्यो । आर्थिक वर्षको सुरुमा कारोबार रकम र बजार परिसूचकले नयाँ उचाइ कायम गर्दै सकारात्मक देखिएको सेयर बजारमा भदौबाट नै घट्न सुरु भयो ।

 

२ भदौ, २०७८ मा नेप्से ३१९९.०३ अंकको ऐतिहासिक उचाइमा पुग्दा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाखसम्म पुग्यो । तर, त्यसपछि घट्न सुरु भएको नेप्से आर्थिक वर्ष सकिंदा उक्त विन्दुबाट ३७.१९ प्रतिशतले गिरावट भएर बन्द भएको हो ।


नेप्से घटेसँगै बजार पूँजीकरण पनि ओरालो लाग्यो । २ भदौमा ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँसम्म पुगेको बजार पूँजीकरण ३५।७९ प्रतिशतले गिरावट भएर २८ खर्ब ६९ अर्ब ३४ करोड ४२ लाखमा झरेको हो ।


भदौमा ऐतिहासिक रेकर्ड बनाएपछि राष्ट्र बैंकको मौद्रिक नीतिले सेयर कर्जामा गरेको कडाइ, बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, बढ्दो ब्याजदर, कोभिड र त्यसपछि रसिया युक्रेन युद्ध जस्ता कारणले विश्व अर्थव्यवस्थामा परेको प्रतिकुल प्रभावले गर्दा सेयर बजार ओरालो लाग्यो । 


९ असार २०७९ मा नेप्से १८४८.२८ अंकसम्म झर्‍यो । ४ असारमा ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि भने केही बढेको छ ।