सिन्धुली । सिन्धुलीमा तीन बालिकामाथि सामूहिक बलात्कार भएको छ। कमालामाई नगरपालिका–५ बोझेका तीन बालिकामाथि नौजना युवाहरुले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घटना गत शनिबार रातिको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शनिबार राति ती केटाले बालिकालाई बोलाएर घर बाहिर लगि सामूहिक बलात्कार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ । प्रहरीले सामूहिक बलात्कार गर्ने नौंमध्ये तीनजना युवालाई पक्राउ समेत गरिसकेको छ । ‘उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको छ । बाँकी छजना भने फरार रहेको र उनीहरुको खोजिकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
बालिकाहरु बलात्कृत भएको थाहा पाएपछि अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी दिएपछि तीनजनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुले बालिका बलात्कार गरेको स्वीकार गरेका छन् भने बलात्कार हुने बालिकाको मेडिकल जाँचका क्रममा पनि बलात्कार भएको खुलेको जनाइएको छ ।