काठमाडौँ । १२८ ग्राम सुनसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका –११का २६ वर्षीय सुदिप विक र गोरखा चुमनुब्री गाउँपालिका –६का ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।
उनीहरूले रसुवाको केरूङ नाका हुँदै भन्सार छलेर सुन तस्करी गरी काठमाडौं प्रवेश गरेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनापछि सोमबार साँझ कार्यालयबाट प्रहरी खटिएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवीबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट एक टुक्रा सुन फेला परेको थियो। जसको तौल १२८.७ ग्राम रहेको जनाइएको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरमा पठाएको छ।