उदयपुर । कटारी–घुर्मी सडक खण्डमा बिहीबार बिहान पहिरोमा परी एउटा मालवाहक ट्रक २५ मिटर तल पुगेको छ। मानवीय क्षति भने भएको छैन।
खोटाङदेखि उतिसको काठ लिएर कटारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०१२६ नम्बरको ट्रक कटारी नगरपालिका–१४ को लामिडाँडा भन्ने ठाउँमा पहिरोमा परी दुर्घटनामा परेको हो।
ट्रक पहिरोले पुरिएको सडकछेउमा धस्किएर फसेको थियो। सडक ब्याक गर्न खोज्दा नसकेपछि चालक र सहचालक हाम फालेर बाँचेकाले मानवीय क्षति हुन नपाएको हो।
इलाका प्रहरी कार्यालय कटारी प्रमुख डिएसपी सुवास राईले पहिरो गएको ठाउँमा चिप्लेर ट्रक सडकमुनि खसेको घटना पुष्टि गरे।
चालक संखुवासभाका २५ वर्षीय ललित विक र नाम नखुलेका सहचालक सकुशल रहेको डिएसपी राईले बताए। घट्नाबारे जानकारी भएलगत्तै स्थानीय बेतिनी र घुर्मी चौकीबाट सुरक्षाकर्मी घटनास्थल खटाएर ट्रक निकाल्ने उपायको खोजी भइरहेको उनले बताए।