विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र खुवाएर अमानवीय व्यवहार गरिएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको बताइएको छ ।
माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको र पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ । ‘पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाउको छ । उनी विरुद्ध बोक्सी आरोपको कसुरमा अदालतबाट शुक्रबार म्याद थप गर्ने तयारी भइरहेको छ।