काठमाडौ । पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा प्रवेश गरेको छ। तीव्र गतिका बलर करण केसीले ह्याट्रिकसहित लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गरेको हो ।
यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा पराजित भए पनि नेपालको फाइनलमा स्थान पक्का छ। फाइनलमा नेपालले पिएनजी र मलेसियामध्ये एक टिमसँग भिड्नेछ।
बिहीबार त्रिवि मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजी २ बल खेल्न बाँकी छदा १६६ रनमा अलआउट भयो।
करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा तीन विकेट लिँदै ह्याट्रिक गरेका थिए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए।