महिला साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

न्युजलय ५ पुस २०७८, सोमबार ०२:४० मा प्रकाशित

काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको यु १९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।


नेपालले फाइनलमा पुग्न भारतसँग बराबरी खेल्दा पनि हुने भएपनि भारतसँग १(० ले पराजित भएपछि प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो।


ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा भारतको जितमा ६७ औं मिनेटमा प्रियंका देवीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।


५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै लिगमा तेस्रो भएको थियो।


भारतले भने ३ जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। भारतसँग नेपालको हारसँगै घरेलु टोली बंगलादेशले फाइनलमा स्थान पक्का गरेको छ।


अब बंगलादेशले अन्तिम खेलमा श्रीलंकाको सामना गर्ने छ। लिग चरणमा भारत र बंगलादेशले खेल्दा घरेलु टोलीले १ ० को जित निकालेको थियो।