चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

न्युजलय ७ चैत २०८०, बुधबार ०२:५२ मा प्रकाशित

पाँचथर । पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

पाँचथरको प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो।

गएराति प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए । तर, मध्यराति उनको मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका –४ घर भएका माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भइ प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।