श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०२:२९ मा प्रकाशित

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समुह बि बाट समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

 

नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो ।


नेपालका लागि खेलको १०औं मिनेटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ११औं मिनेटमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् ।


त्यस्तै नेपालका लागि तेस्रो गोल खेलको १७औं मिनेटमा अमृता जैसीले गरेकी थिइन् भने पहिलो हाफको अतिरिक्त समयमा दिपा शाहीले नेपालका लागि चौथो गोल गरेकी थिइन् । नेपालका लागि पाँचौं र छैटौं गोल अमिषा कार्कीले गरेकी थिइन् ।

 

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले जित हासिल गरेको थियो । त्यस्तै भुटानले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो ।


समुह बि बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।


त्यस्तै समुह ए बाटभारत र बंगलादेश अन्तिम खेल अघि नै सेमिफाइनलमा पुगिसकेका छन् । समुह ए को अन्तिम खेल मंगलबार हुने छ र यसै खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । यस खेलपछि नै नेपालसँग सेमिफाइनलमा कुन टिम सँग खेल्ने भन्ने टुंगो लाग्ने छ ।